सेप्टेम्बर ३० २०१८: अमेरिका स्थित प्रभावशाली संस्था युनाइटेड शेर्पा एसोसिएसन ( शेर्पा किदुग) नेपालीको बाक्लो बस्ती ज्याक्सन हाइट्सको सरसफाइमा जुटेको छ । न्यूयोर्कस्थित शेर्पा जातिको बृहत्तर हितमा सक्रिय शेर्पा किदुगले न्यूयोर्क सिटीअन्तर्गतको सिटी काउन्सिलका स्थानीय नेता डेनियल ड्रमको नेतृत्वमा ठूलो समूहसहित ज्याक्सन हाइट्सको सफाइ गरेको हो ।

गत सेप्टेम्बर ३०, आइतबार बिहानै शेर्पा किदुगको आयोजनामा स्थानीय नेता डेनियल ड्रमको नेतृत्वमा १ सय ५० जना नेपालीभाषीहरु कुचो, साबेल र फोहोर संकलन गर्ने डब्बासहित उत्साहसाथ सरसफाइमा जुटेका थिए । ‘सरकारबाट हामीले के पाउँछौं भन्दा पनि सरकारलाई हामी के दिन सक्छौं त भनेर आफू बसोवास गर्ने शहर सफाइमा जुटेका हौं,’ शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा बताउँछन् ।

बढ्दो जनसंख्यासँगै ज्याक्सन हाइट्समा फोहोर पनि बढ्दै गएकोमा काउन्सिल मेम्बर डेनियल ड्रम चिन्तित देखिएपछि युनाइटेड शेर्पा एसोसिएसनले सफा गरी दिने वाचा गरेको थियो । डिपार्टमेन्ट अफ स्यानिटेसनसँग सल्लाह गरी सरसफाइका लागि जम्मा ४० स्वयंसेवकहरु आह्वान गरिएकोमा १ सय ६१ नेपालीभाषी दाजुभाइ, दिदीबहिनीहरु झाडु लाउन तयार भएर आएका थिए ।

काउन्सिल मेम्बर ड्रम आफैँ स्वयंसेवकहरु सँगै खटिएका थिए भने कम्युनिटी बोर्ड मेम्बर मोहन ज्ञवाली, तामाङ सोसाइटी अफ नर्थ अमेरिका, मुस्ताङ समाज, मगर संघ अमेरिका, वालुङ किदुग, ग्याल्सुम्दा सेवा संस्था, ह्योल्मो सोसाइटी, हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल इन युएसएका प्रतिनिधि र फिप्नाका पदाधिकारीहरुसमेत शेर्पा किदुगलाई साथ दिन आएका थिए ।

काउन्सिल मेम्बर ड्रमले यो कार्यक्रम अहिलेसम्मकै प्रभावकारी र नमूना कार्यक्रम भएको भन्दै शेर्पा किदुग बोलेर होइन गरेर देखाउने संस्था भएको प्रतिक्रिया दिए । किदुगले अब प्रत्येक सिजनमा एक पटक ज्याक्सन हाइट्स सफा गर्ने योजना बनाएको छ ।

श्रोत: विश्व सन्देश

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat