भगवान बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरी नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले थाइल्यान्डको पर्यटकीय सहर पतायामा एक कार्यक्रमको आयोजना गरिएको छ ।
लुम्बिनी भ्रमण वर्ष २०१२ को अवसरमा थाइल्यान्डस्थित नेपाली राजदूतावासले शनिबार आयोजना गरेको सो कार्यक्रममा लुम्बिनी
भ्रमणसम्बन्धी सूचनाहरु लेखिएका विभिन्न ब्यानरसहित बुद्धको मूर्तिसमेतले गाडीलाई सजिसजाउ पारेर सहर परिक्रमा गरिएको थियो ।
कार्यक्रममा राजदूतावासका पदाधिकारीहरु, गैर आवासीय नेपाली सङ्घ (एनआरएन) थाइल्यान्डका पदाधिकारीहरु एवम् नेपालबाट गएको सांस्कृस्तिक टोलीका कलाकारसमेतले लुम्बिनी भ्रमण वर्ष लेखिएका टी–सर्टहरु तथा अन्य नेपाली वेशभूषा लगाएर सांस्कृतिक कार्यक्रमका साथ सहर परिक्रमा गरेका थिए ।
व्यस्त सहरमा करिब दुई किलोमिटर पैदलयात्रामा सांस्कृतिक टोलीले बाजागाजाका साथ नाचगान गर्दै लामबद्ध भएर सहर परिक्रमा गरेको नेपाली राजदूतावास बैंककले जनाएको छ ।
उक्त अवसरमा थाइल्यान्डका लागि नेपाली कार्यवाहक राजदूत डोरनाथ अर्यालले गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपाल र थाइल्यान्डको धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीक भएको चर्चा गर्नुभयो ।
एनआरएन थाइल्यान्डका अध्यक्ष मनोज राना र उपाध्यक्ष धर्मेन्द्र सुवेदीले नेपालमा धार्मिक पर्यटनको सम्भावनाका बारेमा प्रकाश पार्नुभएको थियो ।