गैर-आवासीय नेपाली रष्ट्रिय समन्वय परिषदद्वारा दोहोरो नागरिकता (Dual Citizenship) को व्यवस्थाको माग गर्दै नेपाली दुताबास मार्फत संबिधान सभाका सभामुख समक्ष बुझाईएको ज्ञापन पत्र :
मितिः 31 डिसेम्वर २००९
सम्माननीय सुवास चन्द्र नेम्वाङ्ग ज्यू
अध्यक्ष
संविधान सभा
संविधान सभाको सचिवालय, काठमाडौं
नेपाल।
मार्फतः महामहिम राजदूत, नेपाली दूतावास ।
विषयः दोहोरो नागरिकताको व्यवस्था सम्बन्धमा माग-पत्र ।
सम्माननीय अध्यक्षज्यू
जन-आन्दोलनको प्रतिफलस्वरुप प्राप्त जनप्रतिनिधिमुलक संस्था संविधान-सभामा सम्माननीय अध्यक्षज्यूको अगुवाईमा नयाँ संविधान निर्माण कार्य अनवरत रुपमा अघि बढिरहेको कुराले हामीलाई खुसी तुल्याएको छ । सभाध्यक्ष महोदय र राजनैतिक दलका शिर्षस्थ नेताज्यूहरुको समयमानै संविधान वनाइसक्ने प्रतिवद्धताले निर्धारित समयभित्र नयाँ संविधान निर्माण हुने कुरामा हामी आशावादी छौं। गत असोजमा संपन्न चौथो गैर आवासीय नेपाली विश्व सम्मेलनमा बिभिन्न दलका नेताज्यूहरुवाट गैरआवासीय नेपालीहरुका लागि अन्य नेपाली नागरिक सरहको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरिने आश्वासनवाट नयां वन्ने संविधानमा दोहोरो नागरिकताको व्वस्था हुने कुरामा हामी पुर्ण आशावादी थियौं। तर संविधानसभाको मौलिक हक तथा निर्देशक सिद्धान्त समितिद्वारा प्रस्तुत मस्यौदामा भएको नागरिकता सम्बन्धी व्यस्थाले हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । प्रस्तुत मस्यौदामा गैर-आवासीय नेपालीहरुको दोहोरो नागरिकताको मागलाई पूर्णरुपमा अस्वीकार गरिएको छ । विद्यमान नागरिकता ऐनको धारा १०.१ को विदेशी नागरिकता प्राप्त गरेमा नेपाली नागरिकता कायम नरहने प्रावधानलाई प्रस्तावित मस्यौदामा कायम राखेर दोहोरो नागरिकताको संभावनालाईनै नकार्न खोजिएको छ । यसले ''एक पटकको नेपाली सधैको नेपाली'' भएर बाँच्न पाउने हाम्रो अधिकार कुण्ठित भएको छ । यस्तो व्यवस्थाले विदेशमा जन्मिने हाम्रा सन्ततीले नेपाली पहिचान नै गुमाउने निश्चित छ ।
दोहोरो नागरिकताको व्यवस्थाले गैर-आवासीय नेपालीहरुको आफ्नो मातृभूमिसंगको जिवन्त सम्बन्धलाई अविछिन्न राख्नुका साथै राष्ट्रको सर्वाङ्गिण विकासमा सहभागी बन्ने महान अवसर दिने हुँदा यस्तो व्यवस्थावाट राष्ट्र स्वयंले प्रचूर लाभ लिन सक्ने कुरामा कसैको पनि दुईमत नभएको कुरा सम्माननीय अध्यक्षज्यू समक्ष विनम्र अनुरोध गर्न चाहन्छौं । गैर-आवासीय नेपालीहरुद्वारा आयोजित विभिन्न गोष्ठी, सभा, सम्मेलन र समारोहहरु तथा अन्य कार्यक्रमहरुमा पनि देशको नीति निर्माणमा निर्णायक भुमिका खेल्ने राजनीतिक दलहरुका शिर्षस्थ नेतृत्वद्वारा दोहोरो नागरिकताको पक्षमा पटकपटक समर्थन व्यक्त हुंदै आएको कुरा पनि सम्माननीय अध्यक्षज्यूमा पुन: स्मरण गराउन चाहन्छौं । साथै नयाँ संविधानमा सुझाव संकलनको समयमा दोहोरो नागरिकताको विभिन्न पक्षको विवेचनासहित दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने कुरा गैर-आवासीय नेपाली संघले आफ्नो अधिकारीक सुझावपत्रमा स्पष्ट रुपमा उल्लेख गरेको कुरा पनि सम्माननीय अध्यक्षज्यूलाई स्मरण गराउन चाहन्छौं ।
तर समितिद्वारा प्रस्तुत मस्यौदामा गैर-आवासीय नेपालीहरुका लागि न्यूनतम अधिकार भएको परिचय-पत्रको व्यवस्था गर्ने कुराले हामीलाई अत्यन्त चिन्तित तुल्याएको छ । यस्तो परिचय पत्र त गैरआवासीय नेपाली संवन्धि ऐन ले नै व्वस्था गरेकोले संविधानमा ऊल्लेख गर्नुको कुनै अर्थ रहदैन । प्रस्तावित व्यवस्था नै लागु भएमा गैर-आवासीय नेपालीहरुको आफ्नो मातृ भूमिसंगको सांस्कृतिक, सामाजिक, भाषीक, धार्मिक र भावनात्मक सम्बन्ध पूर्णतः विच्छेद हुनुका साथै उनीहरुलाई देशको आर्थिक विकासमा सहभागी बन्ने अवसरबाट पूर्णतः बन्चित गराउने कुरा निश्चित छ । छिमेकी मुलुकवाट आउने लाखौं व्यक्तिहरुले नागरिकता माग्न सक्ने, यि देशहरुमा पनि यस्तो व्यवस्था नभएको, दोहोरो नागरिकताको माग गर्नेले दुवै हातमा लड्डु खोजेको, देशको आर्थिक राजनीतिक क्षेत्रमा नकारातमक प्रभाव पर्ने र देशको आन्तरिक सुरक्षामा खलल पुग्न सक्ने, देशको राजनीतिक/आर्थिक क्षमताले धान्न नसक्ने जस्ता दोहोरो नागरिकताको व्यवस्थाको विरुद्दमा दिईने आधार नभएका तर्कहरुलाई हामी पूर्ण रुपमा अस्वीकार गर्छौ । परिचय-पत्रको व्यवस्था खोला विनाको झोलुङ्गे पुल जस्तै बन्ने, अर्को देशको नागरिकता लिने गैर-आवासीय नेपालीहरुको संख्या देशले धान्नै नसक्ने नरहेको, दोहोरो नागरिकताको व्यवस्था भएका संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता देशहरुको नागरिकता लिंदा नेपाली नागरिकता त्याग्नु नपर्ने, दोहोरो नागरिकताको व्यवस्थामा जाँदा राष्ट्रलाई कुनै घाटा नभई फाईदा नै पुग्ने र वेलायत जस्तो बृटिश-गोर्खा आर्मीको पृष्ठभुमि भएको देशमा वसोवासरत गैर-आवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गर्नु नेपालले गरेको सन्धि-संझौता अनुकुल हुने जस्ता तर्कहरु वलवान रहेको सन्दर्भमा नयाँ संविधानमा गैर-आवासीय नेपालीहरुको लागि दोहोरो नागरिकताको स्पष्ट व्यवस्था गरियोस् भन्दै निम्न बमोजिमका मागहरु सम्माननीय अध्यक्षज्यू समक्ष प्रस्तुत गर्न चाहन्छौं ।
१. नयाँ संविधानमा ''गैर-आवासीय नेपालीहरुका लागि दोहोरो नागरिकताको व्यवस्था गरिने छ'' भन्ने वाक्यांश राखियोस ।
२. प्रस्तावित मस्यौदाको धारा ११ (ख) को विदेशी नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता नरहने प्रावधानको खारेजी गरियोस् । यस्तो व्यवस्थाले राष्ट्रले केही गुमाउन नपर्ने हाल नेपाली नागरिकता भएका नेपालीले विदेशी नागरिकता लिएपछि पनि नेपाली नागरिकता कायम राख्न सक्ने र विदेशमा जन्मने तिनका सन्तानहरुको नेपाली पहिचान नगुम्ने र उनीहरुको नेपालप्रतिको भावनात्मक सम्बन्ध कायम रहने हुनाले दिर्घकालीन रुपमा राष्ट्रलाई फाईदा पुग्नेछ । यस्तो व्यवस्थाले छिमेकी मुलुकका नागरिकले नेपाली नागरिकता माग्नसक्ने प्रश्न पनि आउने छैन ।
३. अर्को देशको नागरिकता लिईसकेका र विगतमा नेपालको नागरिकता भएका गैर-आवसीय नेपालीहरुका लागि पनि दोहोरो नागरिकताको व्यवस्था गरियोस् ।
४. बृटिश-गोर्खा सैनिकहरु नेपाल सरकारको ऐन कानुन वमोजिम नै बृटिश सेनामा कार्यरत रहेकोले यस पृष्ठभुमिका गैर-आवासीय नेपालीहरुले बेलायती नागरिकता लिंदा नेपाली नागरिकता समाप्त नहुने व्यवस्था गरियोस् ।
५. दोहोरोनागरिकता लिएका व्यक्तिले विदेशमानै रहेर नेपालको संवैधानिक पदमा आशिन हुने, राजनीतिमा प्रतिकुल असर पार्ने डर भएमा त्यस्ता व्यक्तिले निर्वाचनमा भाग लिन, संवैधानिक पदमा आशिन हुन विदेशी मुलुकको नागरिकता त्यागेको हुनु पर्ने प्रावधान राख्न सकिन्छ ।
धन्यवाद ।
अध्यक्ष
गैर-आवासीय नेपाली संघ
रष्ट्रिय समन्वय परिषद
वोधार्थः
१ सम्माननीय प्रधानमंत्री माधवकुमार नेपालज्यू, मंत्रिपरिषद एवम् प्रधानमंत्रीको कार्यालय सिंहदरवार काठमाडौं, नेपाल ।
२ माननीय सभापति निलाम्वर आचार्यज्यू, संवैधानिक समिति, संविधान सभा, काठमाडौं नेपाल ।
३ माननीय सभापति विन्दा पाण्डेज्यू, मौलिक हक तथा निर्देशक सिद्धान्त समिति, संविधान सभा,