Home » Uncategorized » शेर्पा किदुगका महासचिबको प्रतिबेदन 2017.

शेर्पा किदुगका महासचिबको प्रतिबेदन 2017.

कार्यक्रमकका सभापति ज्यू
प्रमूख अतिथि ज्यू
मंचमा आसीन सम्पूर्ण अतिथिहरु ज्यू
शेर्पा किदुगका संरक्षक, अजीवन तथा साधारण सदस्यहरु

कार्यक्रमकका सभापति ज्यू
प्रमूख अतिथि ज्यू
मंचमा आसीन सम्पूर्ण अतिथिहरु ज्यू
शेर्पा किदुगका संरक्षक, अजीवन तथा साधारण सदस्यहरु

शेर्पा किदुगका महासचिबको प्रतिबेदन पेश गरिएको सम्बन्धमा।

हामी बिदेशमा रहँदा हाम्रो मातृभूमीसँग हाम्रो सम्बन्ध रगत र माटोको मात्र नभई अर्को ठूलो पाटो हाम्रो मौलिक भाषा, धर्म, सस्कृतिको कुरा महत्वपूर्ण रुपमा रहेको छ। हामी केही समय अथवा पुरै समय बिदेशमा बसेका छौं भन्दै हाम्रो भाषा, धर्म र सस्कृतिलाई पनि हामीले बेवस्ता गरी लोप हुन दिनु हुँदैन। हाम्रो भाषा, धर्म, सस्कृति यदी लोप भयो या हरायो भने हाम्रो देश र हाम्रा पिता पुर्खाहरुको ईतिहाससंगको हाम्रो नाता तोडिन्छ अनि हामीहरु यस धर्तीमा हराए सरह हुनेछौ। त्यसैले हामी जहाँ रहे पनि आफ्नो भाषा, धर्म र सस्कृति आजको आवश्यकता हो, यसलाई जोगाउनु र हाम्रो भावी सन्ततिलाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। त्यसैले हामीले युवाहरुलाई शेर्पा किदुग प्रति आकर्षण बढाउन सक्नु पर्दछ त्यस अनुरुपको कार्यक्रम ल्याउनु जरुरी देखिन्छ। अमेरिकामा आजको आवश्यकता भनेको आफ्नो छोराछोरीलाई पैसा, घर र गहना हैन हामी शेर्पाहरुको भाषा, धर्म, सस्कृतिको ज्ञान दिनु बढी आवश्यक देखिन्छ। साथ शेर्पाहरुले आफ्ना छोराछोरीलाई हामी जुन देशमा बसेका छौं त्यो देशको स्तरीय शिक्षा कसरी लिन सकिन्छ भन्ने तर्फ ध्यान दिनु आवश्यक देखिन्छ।त्यसैको खातिर शेर्पा किदुग अमेरिकाले बिगत आफ्नो स्थापना कालदेखि नै भाषा, धर्म र सस्कृतिको संरक्षण साथै समाजमा आई पर्ने दु:ख तथा पीरमार्कामा सहयोग पुराउने, समाजमा काम लाग्ने उपयोगी कुराहरु छ भने सुसूचित गरी समाजलाई अगाडी बढाउने कार्य गर्दै आईरहेको कुरा सबैलाई सर्ब बिदितै छ।
शेर्पा किदुगलाई यस अवस्थासम्म ल्याउन हाम्रा शेर्पा समाजका अग्रजहरु तथा सहयोग गर्नु हुने सम्पूर्ण सदस्य शेर्पाहरुको महत्वपूर्ण योगदान छ र शेर्पा किदुगलाई सफा दिलले आर्थिक, भौतिक र नैतिक सहयोग गर्नु हुने यहाँहरु सबै जना धन्यवादको पात्र हुनुहुन्छ। आफ्नो देशबाट धेरै टाढाबाट आएर अमेरिका जस्तो ठाउमा यति ठूलो सस्था स्थापना गरेर हाम्रो समाज एकताबद्ध भएर अगाडी बढ्नु सबैको लागि गौरब कुरा हो।अर्को कुरा म के सचेत गर्न चाहन्छु भने सम्पूर्ण सदस्यहरुको शेर्पा किदुगमा चाहे त्यो साधारण सदस्य होस् या संरक्षक सदस्य होस् ती सबै जनाको समान पहुँच रहनु पर्दछ र ती सबैले नेतृत्व बर्गमा आउन चाहेको अवस्थामा अवसर दिनु आवश्यक छ। यसलाई नेतृत्व बर्गमा कसलाई राख्ने को नराख्ने भन्ने कुरा केही ब्यक्तिहरुमा सीमित रहनु हुँदैन यो सस्था सबैको साझा सामाजिक सस्था हो भन्ने सबैमा ज्ञान हुनु पर्दछ। बिदेशमा बस्ने नेपाली संघ सस्था र समुदायमा सबै मिलेर सामाजिक, धार्मिक र सास्कृतिक कार्यहरु गर्न सफल शेर्पा किदुग अमेरिका एउटा नमूना सस्थाको रुपमा खडा भएको छ।

बिगतमा गर्दै आएका सामाजिक, धार्मिक तथा सास्कृतिक कार्यहरुलाई निरन्तरता र अझ ब्यापक बनाउदै हामीले अगाडी बढाउने कार्य गर्नुका साथै त्यसको अलावा हामीले नयाँ केही प्रभावकारी कामहरु गरेका छौं। उदाहरणको लागि बिगत बर्ष नेपालमा आएको महाभुकम्पले पुराएको मानबीय तथा भौतिक क्षति भएको अवस्थामा हामीलाई ठूलो जिम्मेवार आइपरेको र तपाईंहरु सबैको सहयोगले त्यस दु:खद घडीमा केही हदसम्म सहयोग गर्न शेर्पा किदुग सफल भएको कुरा तपाईंहरु सबैलाई सर्बबिदितै छ। साथै हाम्रो समाजको लागि उपयोगी र आवश्यक धेरै कामहरु पनि गरेका छौं। शेर्पा किदुगले २०१५/२०१६ मा गरेका सबै कार्यहरुको बुँदागत रुपमा तल उल्लेख गरेको छु। साथै शेर्पा किदुगमा हाम्रो कार्यकालमा सहयोग गर्नु हुने तथा किदुगले आयोजना गरेका कार्यक्रमहरुमा हरेक कोणबाट सहयोग गर्नु हुने सबैमा आभार प्रकट गर्दै यहाँहरुप्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछु। हामीले हाम्रो कार्यकाल २ बर्षभित्र भए गरेका गतिबिधिहरु प्रतिबेदनको रुपमा यहाँहरु समक्ष पेश गर्न चाहन्छु।

१. धार्मिक तथा सास्कृतिक कार्यहरु: शेर्पा किदुगले बुद्ध धर्म अनुसार न्यूङ्ने, ड्रुक्पा क्षेछु, ल्हबप थुचेन् , ङेर्ङ ठ्रोमा, प्रत्येक् महिना छेचु, महान् चाड लोसारको छेवा चिग पूजा, लोसार ल्हप्सो पूजा, लोसार पार्टी, बुद्ध जयन्ती, सकदावा पूजा किदुगको क्यालेन्डर अनुसार बार्षिक तालिका बनाई मनाउने र पूजापाठ गर्ने गरिएको छ।

२. भाषा तथा भेषभूषा संरक्षण: शेर्पा किदुगको शेर्पा रिग्सुङ उप-समितिले शेर्पा कल्चर सेन्टरमा पस्तु पढाउने कक्षा, शेर्पा भाषा कक्षा, स्याब्रु कक्षा, गीत तथा नृत्य कक्षा संचलान गरिरहेको छ। शेर्पा रिक्सुङ सेन्टरमा साप्ताहिक नियमित करीब ८० जनाले कक्षा लिई रहेका छन्।

३. हिमाली समुदायहरु शेर्पा, ह्याल्मो, तामाङ्, गुरुङ, मुस्ताङ, मनाङ, वालुंग, नुप्री आदिले संयुक्त बुद्ध जयन्ती मनाउन पहल गरि भब्य रुपमा शेर्पा किदुगको सन्योजकत्वमा भब्यताकासाथ उल्लेख्य हिमालयन नेपाली समुदायको उफस्थितिमा दोश्रो पटक ज्याक्सन हाइटको diversity plaza मा सम्पन्न भएको थियो। जुन कार्यबाट बुद्ध जयन्तीको ब्यापकता र बुद्ध नेपालमा जन्मनु भएको भन्ने कुराहरु अन्तराष्ट्रिय स्तरमा पुराउन सहयोग पुगेको छ।

४. सन् २०१५ सालमा नेपालमा आएको महाभुकम्पको मानबीय तथा भौतिक क्षतिप्रति दु:ख ब्यक्त गर्दै रामेछाप, सोलुखुम्बु, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङा र भोजपुरमा राहत स्वरुप जस्ता पाता र त्रिपाल वितरण गरिएको थियो। पहिलो पटक भुकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोक र दोलखामा १० पाताको दरले ७२२ घर दुरीलाई जस्ता पाता भाँड्ने निर्णय भएको त्यसपछि दोश्रो पटक पुन: आएको भुकम्पले क्षति पुराएको पुर्बी जिल्लाहरु सोलुखुम्बु, दोलखा, रामेछाप, ओखल्दुङ्गा र भोजपुरमा ३४०४ वटा त्रिपाल बाँडिएको थियो। त्यसैगरी बौद्ध धर्मको क्षति ग्रस्त १९ गुम्बाहरु र दुई सस्थालाई आर्थिक सहयोग प्रदान गरेको थियो। साथै नेपाल सरकारलाई ५१११ डलर न्युयोर्कस्थित महाबानिज्य दुत मार्फत् सहयोग पठाएको थियो। त्यसपछि प्राप्त बाँकी USD 4329.00 शेर्पा सेवा केन्द्रले संचालन गरेको बृद्ध मिलन केन्द्रलाई सहयोग प्रदान गरेको छ।

५. अमेरिकामा बसोबास गर्ने शेर्पाहरुको तथ्याङ्क संकलन: अमेरिकाको न्यूयोर्क, न्यू जर्सी क्षेत्रको शेर्पाहरुको तथ्याङ्क संकलन कार्य शुरु गरी संकलन गर्ने काम जारी रहेको छ। तथ्याङ्क संकलन कार्य अनलाईन तथा लिखित फाराम भरेर गरिने दुई वटा बिधि अपनाइएको थियो। शेर्पाहरुको कागजी कारणले गर्दा धेरै जनाले आफ्नो नाम शेर्पाको तथ्याङ्कमा समाबेश गर्न नमिल्ने कठिनाई भएको बताएको हुनाले ठोस तथ्याङ्क आउन कठिनाई भएको सबैमा अवगत गराउदछु।

६. बार्षिक खेलकुद कार्यक्रम:
शेर्पा किदुगको स्पोर्टस् कमिटीले वार्षिक रुपमा आयोजना गर्दै आएको खेलकुद कार्यक्रम अमेरिकामा नेपाली समुदायको सबभन्दा ठूलो प्रतियोगिताको रुपमा परिचित रहेको छ। वार्षिक रुपमा बिभिन्न खेलहरु फुटबल, भलिबल तथा रोमान्चक खेलहरु खेलाइने सो प्रतियोगितामा २०१५/ २०१६ को खेलकुद अहिले सम्मकै सबभन्दा ठूलो खेल आयोजना भएको थियो सो प्रतियोगितामा करीब ५०० जना खेलाडीहरु सहभागी भएका थिए। त्यसै गरी वार्षिक रुपमा युथ सकर लिग् , एडल्ट गल्फ र बास्केटबल प्रतियोगिता बार्षिक रुपमा आयोजना गरिदै आएको छ।

७. विश्व शेर्पा संरचना निर्माण गर्ने सम्बन्धमा पहल गरेको।
शेर्पा किदुग अमेरिकाले विश्वमा छरिएर रहेका शेर्पाहरुबीच भाषा, धर्म, सस्कृति आदि कुराहरुमा एक रुपता कायम होस् भन्ने उद्धेश्य अनुरुप आफ्नो धारणा प्रस्तुत गर्दै सहभागी भएको र विश्व शेर्पा संघको रुपमा तदर्थ समिति समेत गठन भै कार्य अगाडी बढेको र सन् २०१७ को अक्टोबरमा नेपालमा विश्व शेर्पा सम्मेलन गर्ने तयारी भैरहेको छ।

८. उदघोषण तालिम: शेर्पा किदुगले हाम्रो समाजमा उदघोषण शिक्षाको आवश्यकता महसुस गरी ११ जनालाई निशुल्क २ दिने तालिम संचालन गरेको थियो।

९. शेर्पा किदुगले गर्ने कार्यहरुमा सहयोग पुराउन र युवाहरुको हाम्रो सामाजिक तथा धार्मिक सास्कृतिक कार्यहरु प्रति आकर्षण बढाउन स्वयम् सेवक सहभगिता गराउन सूचना जारी गरी स्वयम् सेवक गर्न ईच्छुक युवा बिद्यार्थीलाई वारियान्टेशन् दिएर परिचालन समेत गरिएको व्यहोरा अवगत गराउदछु।

१०. शेर्पा किदुग न्युयोर्क अमेरिकाले अमेरिकी सस्था live to love international को मध्यस्ततामा आर्थिक जुटाई शेर्पा किदुग भवन हामीसँग भएको जग्गाको आधारमा बढाएर नयाँ भवन बनाउन आर्किटेक्चरबाट नक्सा बनाउने कार्य सम्पन भएको छ। सो नक्सा बनाई सकेर के कति लाग्ने कस्तो भवन बनाउने भन्ने सबै कुराहरु तयारी गरेर आवश्यक प्रोपोजल बनाई live to love international को मध्यस्ततामा शुरुमा बिदेशी दाताहरुसँग अनुरोध गरी आर्थिक राशी जुटाउने कुरा भए अनुसार काम अगाडी बढी रहेको कुरा यहाँहरु सबैलाई अवगत गराउन चाहन्छु। साथै अजीवन तथा संरक्षक सदस्य वितरण गरी आर्थिक जुटाउने लक्ष्य राखिएको छ। त्यस कार्य सम्पन्न संरक्षक समितिका सदस्य श्री छिरिङ् शेर्पाको संयोजकत्वमा समिति गठन गरिएको छ।

११. शेर्पा पोशाक तथा उपथर सम्बन्धमा:
शेर्पा किदुगले नामको पछाडी उपथर लेख्ने र बिहे गर्न हुने र नहुने प्रस्ट हुने गरी रु हरुको चार्ट किदुग गुम्बाको लबीमा झुन्डाएको छ। शेर्पाको मौलिक पोशाकलाई संरक्षण गर्न प्रत्येक बर्ष लोसार पार्टीमा बेस्ट अफ शेर्पा ड्रेस अप पुरुस्कार दिने निर्णय गरेको थियो।

१२. शेर्पा किदुग छात्रबृति बितरण गरिएको: शेर्पा किदुगले सूचना निकाली प्रस्तिस्पर्धाढ्वरा नेपालमा ४ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक रुपमा १००००० एक लाख रुपैया प्रति विद्यार्थी प्रदान गरिने भएको छ र पहिलो किस्ता स्वरुप ५००००/ ५०००० उपलब्ध गराई सकेको छ।

१३. अन्तरक्रिया कार्यक्रमहरुको आयोजना: त्यसै गरी बिभिन्न समयमा नेपालबाट आउनु भएका सभासद आङ टावा शेर्पा, एन अार एन अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले, नेपाल खेलकुद परिषदका उपाध्यक्ष लामा तेण्डी शेर्पा, नेपाल शेर्पा संघका पूर्व अध्यक्ष पेम छिरी शेर्पा तथा बर्तमान महासचिब ङवाङ सोनाम शेर्पाको उपस्थितिमा बिभिन्न समयमा बिबिध बिषयमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरेको थियो।

१४. निशुल्क अङ्रेजी भाषा कक्षा संचालन: शेर्पा किदुगले न्युयोर्क सिटी मेयर कार्यालयको सहयोगमा निशुल्क कक्षा संचालन गरेको थियो जसबाट ३५ जनाले आधारभूत अङ्रेजी भाषा कक्षामा सहभागी भएका थिए। आगामी दिनमा पनि सो कक्षा निरन्तरन्ता दिने सिटी मेयर अफिससँग कुरा भएको छ।

१५. पहिलो पटक शेर्पा भाषाको हाजिरी जवाफ प्रतियोगिता: शेर्पा किदुगले पहिलो पटक शेर्पा रिक्सुङ समितिको आयोजनामा शेर्पा भाषामा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो। जसले शेर्पा भाषा संरक्षण र धर्म संस्कृतिको संरक्षणमा ठूलो भूमिका खेलेको छ।

१६. शप्टुक प्रतियोगिता: शेर्पा किदुगले शेर्पाहरुको मौलिक भाषा संस्कृतिको संरक्षण गर्न पहिलो पटक न्युयोर्कमा शप्टुक, टलु, चोम्यिक देन्दुर प्रतियोगिता आयोजना गरेको थियो। यसलाई वार्षिक रुपमा निरन्तर दिने निर्णय गरेको छ।

१७. महिला ससक्तिकरण सम्बन्धी अन्तरक्रिया: हाम्रो समाजमा शेर्पा महिलाहरुको अवस्था, समस्याहरु बारे छलफल गरी सामाजिक क्षेत्रमा महिलाहरु कसरी बढ्न सकिन्छ भन्ने बिषयमा शेर्पा विद्यार्थी नेटवर्कको सक्रियतामा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरेको थियो।

१८. शेर्पा बालबालिकाहरुलाई शेर्पा भाषा सस्कृति कक्षा संचालन: शेर्पा किदुगले शेर्पा किदुगका प्रबक्त ल्हक्पा तेन्जी शेर्पाको सन्योजकत्वमा शेर्पा बालबालिकाहरुलाई शेर्पा किदुगमा प्रत्येक शुक्रबार साँझ नियमित कक्षा संचालन गरिरहेका छौं। त्यसमा करीब ६० जना बालबालिका सहभागी रहेका छन्।

१९. शेर्पा किदुग ल्हप्सो जग्गा खरीद सम्बन्धमा: शेर्पा किदुगले ल्हप्सो जग्गा खरीदको काम शेर्पा किदुग संरक्षक समितिका संयोजक कल्संग छोफेल शेर्पाको संयोजकत्वमा ल्हप्सो जग्गा खरीद समिति गठन गरिएको छ।

२०. CPR तालिम सम्बन्धमा शेर्पा किदुगले न्यूयोर्क सिटी काउन्सिल मेम्बरको कार्यलय मार्फत माग गरेको CPR तालिमको लागि बर्खरै शेर्पा किदुग छनौट भएको छ। शेर्पा किदुगले सूचना निकालेर सहभागीहरुको लिस्ट पठाएपछि सिटीले कार्यक्रम तयार पारी शेर्पा किदुगमा तालिम दिनेछ।

२२. न्युयोर्क सिटीसंग सम्बन्ध अगाडी बढाएको: शेर्पा किदुगले हामी जुन देशमा बसोबास गरेका छौं त्यो देशको हरेक कुराहरु जान्नु बुझ्नु
र सहभागी अति आवश्यक छ त्यसैले हामीले न्युयोर्क सिटी मेयर अफिस र काउन्सिल मेम्बरसंग सम्बन्ध अघि बढाएर हामीले केही कामहरु पनि गरेका छौं। शेर्पा किदुग अमेरिकी मुलधारमा प्रबेश भएको छ। यसलाई हामीले गरेको महत्वपूर्ण कार्यको रुपमा लिएका छौं।
२३. बिबिध: शेर्पा किदुगले बौद्ध धर्म गुरुहरु तक्लुंग टुल्कु रिम्पोचे, छेट्रल रिम्पोचेको परिनिर्वाण हुनु भएको हुँदा उहाहरुको स्मृतिमा ग्वाङ्जो पूजा आयोजना गरेको थियो। शेर्पा किदुग छोमेन् घरको निर्माण, शेर्पा किदुग अगाडिको चोकमा ट्राफिक चिन्हको माग गरी काम प्रकृयामा रहेको, त्यसै गरी तेन्जिङ् नोर्गे शेर्पाको नाममा नासाले नोर्गे मोन्टेस भनी अन्तरिक्षमा एक पहाडको नाम राखिएको हुँदा शेर्पा किदुगले सो कार्यको स्वागत गर्दै एक कार्यक्रम गरेको थियो। त्साथै लोसार छेचुमा शेर्पा बालबालिकाहरुलाई लोसारको बारेमा प्रस्ट पार्दै गुम्बाको दर्शन गराएर खाम दिने प्रचलन सुरु गरेको थियो। त्यसै गरी शेर्पाहरुलाई आवश्यक सिफारिश तथा अन्य आवश्यक सहयोग पनि किदुगले गरिरहेको जानकारी गराउदछु।

अन्तमा शेर्पाहरुको नयाँ बर्ष लोसार २१४४ को पावन अबसर सम्पूर्ण शेर्पा दाज्यूभाई तथा दिदी बहिनीहरुमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। थुची छे!

आङ जाङ्बु शेर्पा
महासचिब
शेर्पा किदुग अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *